बजेटअघि बैंकर्स संघको सरकारलाई दबाब : कर कटौतीदेखि नीतिगत सुधारसम्मका माग
काठमाडौं । नेपाल
बैंकर्स संघ ले आगामी आर्थिक वर्षको बजेटमा बैंकिङ क्षेत्रमैत्री नीतिहरू समावेश
गर्न सरकारसमक्ष विभिन्न सुझाव पेश गरेको छ । संघले बैंकिङ प्रणालीलाई थप
प्रतिस्पर्धी, सहज र सबल बनाउन कर संरचना परिमार्जनसँगै
प्रशासनिक तथा नीतिगत सुधार आवश्यक रहेको औंल्याएको हो ।
संघले बैंक तथा
वित्तीय संस्थामाथि हाल लाग्दै आएको ३० प्रतिशत संस्थागत आयकर घटाएर अन्य
व्यवसायसरह २५ प्रतिशत कायम गर्न माग गरेको छ । त्यस्तै, व्यक्तिगत आयकरतर्फ १ प्रतिशत कर लाग्ने न्यूनतम सीमा १०
लाख रुपैयाँ पुर्याउन तथा अधिकतम ३९ प्रतिशत करदर घटाएर २५ प्रतिशतमा सीमित
गर्नुपर्ने सुझाव दिएको छ ।
बैंकिङ प्रणालीमा
सर्वसाधारणको आकर्षण बढाउन निक्षेपको ब्याजमा लाग्ने कर घटाउनुपर्ने संघको भनाइ छ
। हाल कायम ६ प्रतिशत करलाई पुनः ५ प्रतिशतमा झार्न सरकारसँग आग्रह गरिएको छ ।
संघले वार्षिक १५
प्रतिशत ब्याजदरलाई सामान्य ब्याजदर मान्ने विद्यमान व्यवस्था परिमार्जन गरी नेपाल
राष्ट्र बैंक ले समयअनुसार निर्धारण गर्ने बैंकदरलाई नै सामान्य ब्याजदरका रूपमा
मान्यता दिनुपर्ने प्रस्ताव गरेको छ ।
त्यसैगरी, असल वर्गका ऋण तथा गैर-बैंकिङ सम्पत्तिमा गरिएको
प्रोभिजनलाई पूर्ण रूपमा खर्च कट्टी गर्न पाउनुपर्ने र संस्थागत सामाजिक
उत्तरदायित्व (सीएसआर) खर्चलाई पनि पूर्ण खर्च कट्टीको मान्यता दिनुपर्ने माग
संघले अघि सारेको छ ।
कार्यस्थलमा
मृत्यु वा अशक्त भएका कर्मचारी तथा उनीहरूको परिवारलाई प्रदान गरिने सहयोग रकममा
कर नलाग्ने व्यवस्था गर्नुपर्ने सुझाव दिँदै संघले चन्दा वा उपहारमा दिइने कर
छुटको सीमा १ लाख रुपैयाँबाट बढाएर ५ लाख रुपैयाँ पुर्याउन आग्रह गरेको छ ।
कर प्रशासन
सुधारतर्फ सामान्य त्रुटिमा लाग्ने ५० प्रतिशत शुल्क हटाएर जानीजानी गरिएको
गल्तीमा मात्र जरिवाना लगाउने व्यवस्था गर्नुपर्ने संघको धारणा छ । साथै, संशोधित कर निर्धारणको अवधि ४ वर्षबाट घटाएर २ वर्ष कायम
गर्न तथा १० वर्षभन्दा पुराना विचाराधीन कर मुद्दा फिर्ता लिएमा शुल्क र ब्याज
मिनाहा गर्नुपर्ने माग गरिएको छ ।
यसैबीच, विदेश अध्ययनका लागि जाने विद्यार्थीबाट उठाइने शिक्षा सेवा
शुल्क मासिकको सट्टा त्रैमासिक रूपमा बुझाउन पाउने व्यवस्था गर्न र बैंकहरूले
सञ्चालन गरेका स्वीकृत अवकाश कोषलाई सामाजिक सुरक्षा कोष वा अन्य कोषमा अनिवार्य
आबद्ध गराउने प्रावधान हटाउन पनि संघले सरकारलाई सुझाव दिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सिन्धु विकास बैंकको नेतृत्वमा गणेश केसी
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेड ले बैंकको प्रमुख कार्यकारी अधिकृ...
काठमाडौं महानगरको आगामी वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, बजेट असार ४ गते आउने
काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।
सोमबार सम्पन्न नगरसभाको १९औँ अधिवेशनले महानगरको नीति तथा कार्यक्रम अनुमोदन गरेको हो। यसअघि आइतबार बसेको बैठकमा कार्यवाहक प्र...
नेप्सेमा उत्साह कायम : परिसूचक २७.८५ अंकले उकालो, कारोबार रकम झन्डै ६ अर्ब
काठमाडौँ — साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सच...



